कोरोनाको नयाँ सबभेरियन्ट ‘बीएफ ७’ कति घातक ? नेपालमा पनि जोखिम बढेको हो ?
कोभिड–१९ को नयाँ सबभेरियन्ट विभिन्न मुलुकहरूमा फैलिरहँदा सरकारले सतर्कताका लागि पटकपटक अनुरोध गर्दै आएको छ । छिमेकी मुलुकहरू चीन र भारतमा पनि ओमिक्रोनको सब भेरियन्ट ‘बीएफ ७’ दिनदिनै बढ्दै गएकाले नेपालमा यसको जोखिमलाई ध्यानमा राख्दै सबै स्तरबाट सुरक्षाका उपाय अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरिरहेको छ ।
शनिबार गृह मन्त्रालयले समेत सार्वजनिक सूचना जारी गर्दै बीएफ ७ को असर देखिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड गर्न गराउन सबैमा अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले संकेत गरेजस्तै बीएफ ७ ले विश्वमा कोभिड १९ को अर्को लहर निम्त्याउला त ?
बीएफ ७ कति घातक ?
विश्व स्वास्थ्य संगठनले बीएफ ७ लाई ओमिक्रोन बीए ५ भेरियन्टको सब भेरियन्टको रूपमा वर्गीकरण गरेको छ । यसको उत्पत्ति सन् २०२२ अक्टोबरमा उत्तरी चीनबाट भएको थियो । हाल आएर चीनमा महामारीको रूप लिएको बीएफ ७ यसअघि बेलायत, जर्मनी, अमेरिका, बेल्जियम, फ्रान्स, भारतमा देखिएको थियो ।
चीनमा अहिले करिब ४ करोड नागरिक कोभिड १९ संक्रमित रहेको र तीमध्ये ६० प्रतिशतभन्दा बढीमा बीएफ ७ देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीएफ ७ ओमिक्रोनको बीए ५ भन्दा बढी संक्रामक र कम मानिसमा मात्रै लक्षण देखिने भएकाले यसले बढीभन्दा बढी मानिसमा संक्रमण गराउनसक्ने डब्लूएचओले चेतावनी दिएको छ ।
विज्ञहरूका अनुसार बीएफ ७ को आर नम्बर १० देखि १८ सम्म छ । अर्थात् एक जनाले १० देखि १८ जनासम्मलाई सार्नसक्छ ।
यसअघि विश्वभर सबैभन्दा धेरै फैलिएको बीएफ ५ भेरियन्ट एकजना संक्रमितले पाँचजना सम्मलाई सारेको रेकर्ड थियो । यसअघिका भेरियन्टहरूजस्तै बीएफ ७ संक्रमणपछि ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र कसै कसैमा झाडावान्तासमेत हुने गरेको पाइएको छ ।
कुनै विशेष लक्षण नभएको र संक्रमितमा पनि लक्षण कम देखिने कारणले रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिका लागि बीएफ ७ ले गम्भीर बनाउनसक्ने डब्लूएचओले जनाएको छ । चीनमा ज्येष्ठ नागरिक र पूर्ण खोप नलगाएकाहरू धेरै संक्रमित भएकाले ती वर्गलाई बीएफ ७ बाट जोखिम वर्गमा राखिएको छ ।
यद्यपि मृत्युका हिसाबले भने डब्लूएचओले यसलाई कम जोखिमयुक्त सब भेरियन्टको रूपमा वर्गीकृत गरेको छ ।
नेपालमा आत्तिहाल्नुपर्ने अवस्था छैन !
छिमेकी मुलुक भारतमा बीएफ ७ देखिएपछि नेपालमा पनि जोखिमको घण्टी बजेको छ । तर, नेपालमा बीएफ ७ को जोखिमलाई लिएर आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
डा. पुन भन्छन् “नेपालमा अहिले पनि ओमिक्रोनका १७ वटा सब भेरियन्ट देखिएका छन् । जसले हामी ओमिक्रोनलाई नै फेस गरिरहेका छौँ र एन्टिबडी बनिरहेको छ भन्ने पुष्टि हुन्छ । अर्को कुरा हाम्रो मुलुकमा कोभिड १९ विरुद्धको खोपको कभरेज राम्रो छ, यसले अस्पताल भर्ना हुने र सिकिस्त हुने जोखिमलाई कम गरेको छ । लक्षणसहितका संक्रमित कम हुनु भनेको अर्को लहरको सम्भावना कम हुनु हो । यी कारणले बीएफ ७ लाई लिएर हामी आत्तिहाल्नुपर्ने अवस्था म चाहिँ देख्दिन ।”
तर, यसअघिका अनुभवहरूलाई हेरेर भारतको अवस्था नेपालका लागि ‘ऐना’ भएको डा. पुन बताउँछन् । “भारतमा कति केस बढ्छ, अस्पताल भर्ना हुने कस कति हुन्छ वा कस्तो स्वरूप लिन्छ भन्ने कुराहरू हामीले सधैँ हेक्का राख्नुपर्छ नेपालमा कहिले कसरी फैलिएला भन्ने आधार भारतको अवस्था नै हो,” डा. पुन भन्छन् ।
बुस्टर डोज खोप लिन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक जिन सिक्वेन्सिङ गरेका ४८ नमुनाहरूको रिपोर्ट सार्वजनिक गरेको थियो । तीमध्ये वटा नमूनामध्ये सबैमा ओमिक्रोनका एबी.२, बीए.२.७५, बीए.२.७५.१, बीए.२.७५.२, बीए.२.७५.३, बीए.२.७५.५, बीए.२.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१, बीएम.१, बीएम.१.१.३, बीएन.१.३, बीक्यू.१.२, बीवाई.१ र एक्सबीबी पुष्टि भएको जनाएको थियो ।
मन्त्रालयले हालसम्म नेपालमा बीएफ ७ पहिचान नभएको पनि स्पष्ट पारेको छ । तर, कोभिड–१९ संक्रमण नयाँ स्वरूपमा फैलिइरहँदा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।
त्यस्तै, गम्भीर संक्रमण हुनबाट जोगिन कोभिड १९ को दुई डोज खोप लिन छुटेकाहरूलाई तत्काल दोस्रो डोज लगाउन र बुस्टर डोज खोप समेत लगाउन मन्त्रालयले अनुरोध गर्दै आएको छ ।
नेपालमा खोप कार्यक्रम सुरु भएयता हालसम्म लक्षित जनसंख्याको ९९.५ प्रतिशतले पहिलो डोज र ९५.७ प्रतिशतले दुवै डोज खोप लगाएको मन्त्रालयको तथ्यांक छ । तर, बुस्टर डोज खोप भने १२ वर्षमाथिका ३७.९ प्रतिशत जनसंख्याले मात्रै लगाएको मन्त्रालयले जनाएको छ । यो संख्या ‘अत्यन्तै न्यून’ भएको मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुर बताउँछन् ।
मन्त्रालयले दोस्रो डोज लिएको तीन महिनापछि आफ्नै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट बुस्टर डोज खोप दिँदै आएको छ ।






