देउवा गठबन्धन जाेगाइ राख्न सफल हुनुहुनेछ : मन्त्री कार्की
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारूढ गठबन्धन जोगाइ राख्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आज आइतवार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले गठबन्धन देशको आवश्यकता भएकाे जिकिर गर्दै त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
माओवादीका अध्यक्ष प्रचण्डको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि प्रचण्ड बैठकबाट बाहिरिनुभएको थियो । तर मन्त्री कार्कीले फेरि केहीबेरपछि बैठक बस्ने र सहमति हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धन अहिले देशको आवश्यकता हो । केही समयपछि फेरि बैठक सुरु हुन्छ र हामी एउटा निर्णयमा पुग्छौँ । हामीले गठबन्धनलाई जोगाइ राख्न प्रयासरत छाैँ । प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्याउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गर्नुभएको एक हप्ताको समय आजै बेलुकी ५ बजे सकिँदैछ ।