धाप बाध र नागमती ड्याम : बाग्मती सभ्यताको सम्वर्द्धनसँगै पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने
काठमाण्डाै – बाग्मती नदीको जलप्रवाहलाई कायम राखेर ‘जीव भू–रासायनिक चक्र’ को प्रवर्द्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाण्डाै उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ मा रहेकाे शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको यो संरचना धार्मिक, सांस्कृतिक एवम् इतिहाससँग पनि गाँसिएको छ ।
बाग्मती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाध (ड्याम) अन्तिम चरणमा पुगेको छ । ड्यामको भौतिक संरचना निर्माण पूरा भइ परीक्षणको चरणमा पुगेको छ । अहिले ड्यामको सुरक्षा एवम् संहारमा खटिनेका लागि संरचना निर्माण भइरहेको छ । हिन्दु सभ्यताको जननी बाग्मतीको प्रमुख सहायक नदी नागमतीको शिरमा निर्माण गरिएको धाप ड्यामले यस क्षेत्रको ‘जीव भू–रासायनिक चक्र’को प्रवर्द्धनका साथै बाग्मती नदी प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ ।
काठमाण्डाैको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भए पनि पछिल्ला वर्षमा निर्माण कार्यले मूर्तरुप लिएको छ । आयोजना कार्यान्वयन इकाईका प्रमुख कृष्णप्रसाद रिजालले धाप ड्यामको भौतिक कार्य पूरा भएको बताउनुहुन्छ । उहाँका अनुसार ड्यामको सुरक्षा एवम् संहारका लागि आवश्यकपर्ने संरचना बनिरहेको छ । मौसम एवम् पानीको तहको मापनका लागि आवश्यकपर्ने प्राविधिक काम भइरहेको रिजालको भनाइ छ ।
पूरा भयो धाप ड्याम संरचना
ड्यामको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । यो ड्याममा अहिले ११ लाख घनमिटर पानी जम्मा भएको छ । वर्षातकाे समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चारसय प्रतिलिटरका दरले बाग्मतीमा छोडिने जनाइएको छ ।
स्थानीय सामग्रीको प्रयोग गरी निर्माण गरिएको यस ‘कङ्क्रिट फेस्ड रक फिल ड्याम’ भूकम्पीय जोखिम थेग्न सक्षम रहेको आयोजनाले जनाएको छ । आयोजनामा कार्यरत इन्जिनियर एवम् भूगर्वविद् जयलक्ष्मी सिंह यो ड्याम नयाँ प्रविधिमा निर्माण गरिएकाले भूकम्पीय जोखिमबाट सुरक्षित रहेको बताउनुहुन्छ ।
ड्याम क्षेत्रमा निर्माण गरिएको स्वचालित ‘वेदर स्टेसन’ ले यस क्षेत्रमा कति पानी पर्यो र त्यहाँको उष्णताबारे जानकारी प्राप्त हुन्छ । ड्याम सञ्चालन र संहारको लागि संरचना निर्माण भइरहेका छन् । यसको सुरक्षाका लागि सैनिक पोष्टको पनि निर्माण भइरहेको छ । यतिबेला ड्याममा दुई मिटर पानीको सतह माथि आउन अर्थात् भरिन बाँकी छ । आउँदाे मनसुनमा यो ड्याम पूरा भरिने अनुमान गरिएको छ । ड्यामका निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) ले ५१ करोड रुपैयाँ ऋण सहयोग गरेको थियो । धाप ड्याम बनाउन ९ अक्टोबर २०१५ मा गोन्झाउ–लामा–रमण जेभीसँग सम्झौता भएको थियो ।
सुरु हुँदै नागमतीको काम
धाप ड्यामबाट आएको पानीलाई फेरि अर्को ड्याम बनाएर जम्मा गरिने भएको छ । धापदेखि करिब पाँच किलोमिटर तल बाँध बनाउनका लागि पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । यो ड्याम निर्माण क्षेत्र पनि शिवपुरी राष्ट्रिय निकुञ्जभित्रै पर्छ । वन मन्त्रालयको स्वीकृतिसँगै नागमतीमा अर्को ड्याम निर्माणको ढोका खुलेको हो । यो ड्याम निर्माणका लागि पनि एडीबीले नै ऋण सहयोग गरेको छ ।
धाप ड्यामभन्दा यो ड्याम तीन गुणा ठूलो हुनेछ । यसको जलाशयको क्षेत्रफल ५० हेक्टर रहेको छ भने ड्यामको लम्बाइ ९४ दशमलव ५० मिटर र सात मिटर चौडाइ हुनेछ । धाप ड्याम २४ मिटर अग्लो छ भने नागमती ९४ मिटर अग्लो हुनेछ । यहाँबाट दुई मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत लिइएको छ । आउँदाे १० वर्षभित्र पूरा हुने यो आयोजनाको लागत १० अर्ब रुपैयाँ रहेको छ । धापको बाँकी काम पूरा भएसँगै नागमतीका भौतिक संरचना निर्माणमा लाग्ने परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।
नयाँ पर्यटकीय गन्तव्य स्थल
यस आयोजनाको मुख्य उद्देश्य सुक्खा मौसममा बाग्मतीमा पानीको बहाव बढाउने र स्थलीय तथा जलीय जैविक विविधताको संरक्षण गर्नु हो । मुख्य उद्देश्य बाग्मती नदी प्रवाहमा मद्दत गर्ने भए पनि यस आयोजना बहुउपयोगी हुने देखिएको छ ।
धाप र नागमती ड्याम निर्माण भएसँगै बन्ने ‘तलाउ’ पर्यटका लागि आकर्षक गन्तव्य हुनेछ । काठमाण्डाै उपत्यकाबाट नजिकको यस सुन्दर स्थलमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमनमा विस्तार आउने विश्वास लिइएको छ । यहाँ हजारौँ आन्तरिक एवम् बाह्य पर्यटकको आवागमन हुने विश्वास रहेको गोकर्णेश्वर–१ का शेरबहादुर लामाले बताउनुभयो । धापको पूर्वोत्तरतर्फ लहरै देख्न सकिने हिमश्रृङ्खलाको दृश्य मनमोहक छ । निकुञ्जको वनभित्र निर्माण भएको तलाउ र त्यहाँबाट देखिने दृश्यवलोकनले यहाँँ आउने पर्यटकलाई भरपूर आनन्द दिनेछ ।
पदयात्रामा आउने पर्यटकलाई लक्षित गरेर निकुञ्जसँगै जोडिएको मुलखर्कमा रेष्टुराँ निर्माण भइरहेका छन् भने चिसोपानीको आसपासमा ठूला होटल पनि निर्माण हुँदै छन् । धाप ड्यामको केही तल प्रकृति होटल सञ्चालनमा आएको छ । सभासम्मेलन एवम् विदेशी पर्यटकलाई लक्षित गरेर बनाइएको होटलमा पर्यटकका लागि सबै सुविधा उपलब्ध गराउने व्यवसायीले बताएका छन् । मुलखर्कमा होटल सञ्चालन गर्दै आएका लामाले धाप ड्याम र नागमती ड्याम बनाएपछि आन्त्रिक र विदेशी पर्यटकको चहलपहल बढेको बताउनुहुन्छ ।





