‘बीआरआई कार्यान्वयनअघि राष्ट्रिय सहमति आवश्यक’
काठमाडौं । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रम राष्ट्रिय हितअनुकुल बनाएर मात्रै कार्यान्वयनमा लैजान विज्ञहरुले राष्ट्रिय सहमतिको आवश्यकता पर्ने धारणा राखेका छन् ।
शुक्रबार काठमाडौंमा सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिजम (सीईएसआईएफ) ले आयोजना गरेको ‘भूराजनीति र दक्षिण एसियामा बीआरआई’ विषयक अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री, अन्तर्राष्ट्रिय सम्बन्धका जानकार, भारत, बंगलादेश र श्रीलंकालगायत मुलुकका विज्ञहरूले राष्ट्रिय सहमति र हितको विषयमा चर्चा गरेका हुन् ।
पूर्वपरराष्ट्रमन्त्री, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआई अवसर र चुनौती दुवै भएको भन्दै देशको हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा बीआरआई अघि बढाउनुपर्ने बताए ।
‘बीआरआई चीनको बढ्दो शक्तिलाई सदुपयोग गर्ने सन्दर्भमा आएको छ । म परराष्ट्रमन्त्री हुँदाखेरि नै राष्ट्रको हितमा हुने गरी सहमतिमा हस्ताक्षर गरिएको हो,’ उनले भने, ‘तर पछि कोरोना महामारी र अन्तर्राष्ट्रिय अनुभवहरूका कारण यो अघि बढ्न सकेको छैन । हामीले मुलुकको हित र चीनले राखेका शर्तहरूलाई हेरेर मात्रै कार्यान्वयनका लागि अघि बढाउनु पर्छ ।’