बाँदर आतङ्क राेक्न माग गर्दै जन्तेढुङ्गाका किसानले गाउँपालिकालाई ज्ञापनपत्र बुझाए

खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँदरलगायतका वन्यजन्तु नियन्त्रणको माग गरेका छन् । बाँदर, मृग, दुम्सीलगायतका वन्यजन्तुले खेतबारीका बालीनाली सखाप पारेको भन्दै जन्तेढुङ्गा गाउँपालिका ५ चिसापानी खुटाका किसानले नियन्त्रणको माग गरेका हुन् ।
साविकको चिसापानी–१ देखि ६ सम्मका किसानको समूहले गाउँपालिका पुगेर गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै बाँदरलगायतका जङ्गली जनावरको आतङ्क नियन्त्रणको माग गरेका छन् ।
सावा खोला किनारमा रहेको देउराली चुनिया सामुदायिक वनबाट निस्कने बाँदर, मृग र दुम्सीले गहुँ, मकै, कोदो, अलैँची, आलु, धान, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली सखाप बनाइदिएपछि पालिकालाई गुहार्नुपरेको खुटाका किसान भुवन कार्कीले बताउनुभयो । बाँदर नियन्त्रणको माग गर्दै खुटाका झन्डै तीन सय किसान गाउँपालिका पुगेका थिए ।
छ वटा वडा रहेको जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा बाँदरको समस्या छ । त्यसमा पनि नदी तथा खोलाको किनार आसपासका बेसी क्षेत्र र जङ्गल आसपासमा बाँदरको समस्या बढी छ । बाँदरले टुसाउँदै गरेको अन्नबालीदेखि पाकेर भित्र्याउने अवस्थाका मकै, कोदो, आलु, फलफूल, अम्रिसो लगायतका बोटबिरुवा विनाश गर्ने गरेका छन् । बाँदरले अन्नबाली, फलफूल र तरकारी सखाप बनाएपछि कृषि उत्पादनमा कमी आउँदा निम्तिने भोकमरीका कारण बसाइँ सर्नुपर्ने अवस्था आएको किसानको गुनासो छ ।
किसानले यसअघि पनि पटक–पटक बाँदर नियन्त्रणको माग गर्दै आएका छन् । तर बाँदरको समस्या नियन्त्रणका लागि प्रभावकारी विधि र उपाय अभावमा किसानको माग पूरा हुन सकेको छैन ।