नर्तकी बन्नका लागि आफ्नै खुट्टा काट्ने युवती

एकजना बेलायती मोडेल, नर्तकी तथा गायिका अहिले चर्चामा छिन् । उनी चर्चामा रहनुको कारण उनको एउटा खुट्टा नहुनु मात्र होइन, उनको खुट्टा नहुनुको अनौठो कारण पनि हो । भिक्टोरिया मोडेस्टाको जन्म लाटभियामा भएको थियो । बाल्यकालमा उनी एउटा दुर्घटनामा परेकी थिइन् ।
२० वर्षको उमेरमा आफ्नो एउटा खुट्टा काट्ने फैसला गरेपनि उनले खुट्टा काट्ने आफ्नो इच्छा पूरा गर्न ५ वर्ष कुर्नुपर्यो । उनले सर्जरी गर्ने डाक्टरहरुलाई मनाउनका लागि ५ वर्ष लाग्यो । अन्ततः उनको खुट्टा काटियो । ता कि उनको समस्या कम होस् र सरीर सन्तुलनमा आओस् । बाल्यकाल देखिनै खुट्टामा समस्या आएका कारण उनी आफ्नो काममा फोकस गर्न सकिरहेकी थिइनन् । तर खुट्टा काटेसँगै उनले आफ्नो सपना पूरा गरेकी छिन् । खुट्टा काटिसकेपछिको समयमा उनको जीवनले कोल्टे फेर्यो । भिक्टोरियाले सन् २०१२ मा लण्डनमा भएको प्याराओलम्पिक समापन समारोहमा शानदार नृत्य प्रदर्शन गरिन् ।
अहिले भिक्टोरिया एक चर्चित हस्ती भएकी छिन् । उनले हालै पेरिसको क्रेजी हर्समा आफ्नो शानदार प्रस्तुती दिइन् । उक्त कार्यक्रम पछि उनको चर्चा झनै चुलिएको छ । स्मरण रहोस् भिक्टोरिया आफुलाई कुनै एउटा देशको मात्र नागरिक ठान्दिनन् । उनी आफूलाई विश्वकै नागरिक ठान्दछिन् ।
– बीबीसीको सहयोगमा