जेलमा बुनेका तन्ना र साडी बेच्ने पसल खोल्दै सरकार

कारागारका बन्दीले उत्पादन गरेका सामग्रीको बजार प्रवर्द्धन गर्न सरकारले स्थायी बिक्री केन्द्र निर्माण सुरु गरेको छ । देशका विभिन्न कारागारमा उत्पादन हुने स्तरीय तन्ना, पर्दा, सारी आदि सस्तो मूल्यमा पाइन्छ भन्ने जानकारी सर्वसाधारणलाई दिलाउन उद्योग विभाग हातामा बिक्री केन्द्र निर्माण थालिएको हो । त्रिपुरेश्वरस्थित टेकु रोडमा मुख्य सडकतर्फ मोहोडा हुने गरी चार कोठाको बिक्री एवं प्रर्दशनीस्थल निर्माण अघि बढेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए ।
करिब २० लाख रुपैयाँ लागतमा निर्माण हुने बिक्री केन्द्र साउन महिनादेखि नै सञ्चालनमा आउने महानिर्देशक सिंहले बताए ।केन्द्रीय कारागारका बन्दीहरुले सुती कपडाका स्तरीय सामान उत्पादन गरे पनि ग्राहकको पहुँच नपुग्दा ओझेलमा परेको पाएपछि केन्द्र स्थापना जरुरी भएको महानिर्देशक सिंह बताउँछन् । बन्दीहरुद्वारा उत्पादित कपडा भृकुटीमण्डपमा केही समयअघि भएको घरेलु प्रर्दशनीमा निकै रुचाइएको कारागारबाट बिक्री हुन मुस्किल भएको थियो । जेलमा आएर आफंै कपडाको प्रकार छानेर लैजान सर्वसाधारणलाई असहज हुने भएकाले यस्तो केन्द्र जरुरी देखिएको उद्योग विभागका निर्देशक एवं प्रवक्ता विनोदकुमार खड्का बताउँछन् । बाहिरबाट आयात भएका र बजारमा न्यूनतम एक सय रुपैयाँ पर्ने रुमाल यस्ता केन्द्रमा २५ रुपैयाँमै पाउन सकिने खड्काले बताए । सरकारको जेल सुधार योजनाअनुसार केन्द्रीय कारागार काठमाडौं, झापा, कास्की र पाल्पामा कारागार तालिम केन्द्र सञ्चालनमा छन् । विभिन्न अभियोगमा लामो समय जेल जीवन बिताउनुपर्ने बन्दीलाई जेलभित्र बसेको समय सदुपयोग गरी जेल जीवनपछि स्वावलम्भी बनाउन यस्तो कारखाना सञ्चालनमा छन् ।
आर्थिक वर्ष ०६१ सालदेखि हालसम्म २ हजार ८७१ जना बन्दीले यस्तो तालिम लिइसकेका छन् । उनीहरुले अहिलेसम्म ४५ हजार मिटर कपडा उत्पादन गरिसकेका छन् । आर्थिक वर्ष ०७४/०७५ मा कपडा बिक्रीबाट ६५ लाख आम्दानी गर्ने लक्ष्य लिएको कारागार कारखानाले १० लाख बढी ७५ लाख रुपैयाँ बराबरको ब्यापार गरेको उद्योग विभागले जनाएको छ ।