यस्तो छ जीवन सन्तुष्टिको रहस्य !

जनपत्र
३० असार २०७६, सोमबार ०६:०७

एउटा नयाँ अध्ययनमा हामीले कति कमाइरहेका छौँ भन्दा केमा खर्च गरिरहेका छौँ भन्ने कुराले हाम्रो जीवन सन्तुष्टि निर्धारण गर्ने गरेको पत्ता लागेको छ । ‘द अफिस फर नेसनल स्ट्याटिस्टिक्स’, ओएनएसको रिपोर्ट अनुसार हामीले होटल, रेस्टुरेन्ट र फर्निचरलगायत विभिन्न घरेलु सामानमा खर्च गर्नु हाम्रो जीवन सन्तुष्टिसँग सम्बन्धित हुन्छ । तर यता मोबाइल फोन र इन्स्योरेन्स खरिद गर्नुलगायतका कुरा भने आश्चर्यजनक रुपमा यससँग सम्बन्धित नरहेको अनुसन्धानकर्ताहरुले बताएका हुन् । ओएनएसका तथ्याङ्कहरु दुई छुट्टाछुट्टै सर्वेक्षणमा आधारित छन्–वार्षिक जनसङ्ख्या सर्वेक्षण र अर्को कर र लाभका असर सम्बन्धी छुट्टै सर्वेक्षण ।
यसरी जीवन सन्तुष्टि मापन गर्दै गर्दा हाम्रा व्यक्तिगत परिस्थित भन्दा हाम्रो कुल आय र खर्चको मान्यता बढी हुने गरेको ओएनएसले जनाएको छ ।

त्यसैगरी जीवन सन्तुष्टिलाई सकारात्मक मुल्याङ्कन गर्न राम्रो स्वास्थ्य, वैवाहिक अवस्था र आर्थिक गतिविधिको पनि स्वभाविक रुपमा बलियो प्रभाव रहने बताइएको हो । यति मात्र नभएर सो विश्लेषणका अनुसार हाम्रो उमेर र जीवन सन्तुष्टिबीच पनि उत्तिकै प्रगाढ सम्बन्ध रहेको छ । जसमा ४० कटेपछिका व्यक्तिहरु भन्दा युवाहरु आफ्नो जीवनसँग बढी सन्तुष्ट हुन्छन् । तर फेरि केही वर्षपछि ४० माथिका व्यक्तिमा पनि खुसीको स्तर वृद्धि हुँदै जाने बताइएको छ भने पछि ८० वर्ष पुगेपछि फेरि यो कम हुने बताइएको हो ।

यसमा जैविक परिस्थितिले पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको बताइएको छ । जस्तै स्वभाविक रुपमा आफ्नै घर हुनेहरु भाडामा बस्ने भन्दा बढी सन्तुष्ट हुने गर्दछन् । त्यस्तै परिवारमा निर्भर छोराछोरी भएको घरका मानिस पनि धेरै खुसी हुने गरेको ओएनएसको भनाइ छ । यसैगरी यता उच्च आय भएका मानिस भन्दा पारिश्रमिक बढेका मानिस झन बढी खुसी र सन्तुष्ट हुने गरेको पनि रिपोर्टमा उल्लेख छ ।

आधिकारिक कुल घरेलु उत्पादनको डाटा भन्दा अझ फराकिलो तरिकाले आर्थिक अवस्थाबारे अध्ययन गरेपछि ओएनएसले यस्तो भनेको छ, “आयु, विवाह र रोजगारको अवस्था लगायत अन्य विशेषताको तुलनामा घरेलु आम्दानी र जीवन सन्तुष्टिबीच कुनै सम्बन्ध रहेकाबारे सङ्ख्यात्मक हिसाबले कुनै प्रमाण छैन । जस्तै हाम्रो घरेलु खर्च बढी छ भने हामी धेरै सन्तुष्ट रहनेछौँ । यसको अर्थ खर्च गर्नुले मानिसको सन्तुष्टिलाई आम्दानी भन्दा बढी प्रभाव पारिरहेको हुन्छ ।”

यसरी रिटायर्ड हुनेलगायतका अन्य पक्षले भने जीवन सन्तुष्टिमा सकारात्मक प्रभाव पार्ने गरेको पाइएको छ । तर अर्कोतर्फ बेरोजगार वा आर्थिक रुपमा सक्रिय नरहेका वा असक्षम व्यक्तिमा चाहिँ स्वभाविक रुपले नकारात्मक असर पर्ने गरेको ओएनएसको भनाइ छ । तरपनि अन्य कुनैपनि परिस्थितिको तुलनामा स्वास्थ्यले हाम्रो जीवन सन्तुष्टिमा सबैभन्दा धेरै प्रभाव पार्ने गरेको विश्लेषणले देखाएको छ ।

जसमा एकदम राम्रो स्वास्थ्य भएकाहरु ठीकठीकै अवस्थाका मानिस भन्दा तीन गुणा बढी सन्तुष्ट रहने गरेको ओएनएसले बताएको छ ।

तर यता खराब स्वास्थ्यको सामना गरिरहेकाहरुको जीवन सन्तुष्टि चाहिँ सामान्य मानिस भन्दा ५.७ गुणाले कम भएको बताइएको छ । यसअघि २०१३ मा भएको अध्ययनमा पनि ओएनएसले स्वास्थ्य स्थितिले जीवन सन्तुष्टिमा महत्वपूर्ण भूमिका खेल्ने गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै ६ वर्ष अगाडिको तुलनामा अहिले वैवाहिक अवस्थाले पनि मान्छेको जीवन सन्तुष्टिमा गम्भीर प्रभाव पारिरहेको बताइएको छ ।
बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*