गर्धन तथा ढाड दुख्छ ? बदलिँदो जीवनशैलीको समस्या

जनपत्र
२६ असार २०७६, बिहीबार ०६:३४

बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय गर्धन तथा ढाड दुख्ने समस्या बढ्दै गइरहेको मेरुदण्डरोग विशेषज्ञले बताएका छन् । उनीहरुका अनुसार गर्धन  र ढाड दुख्ने समस्या पछिल्लो समय रुघाखोकीभन्दा दोस्रो नम्बरमा देखिएको छ । जीवनशैलीका कारण देखिएको गर्धन र ढाड दुखाइ जीवनशैली परिवर्तन गरेको एक सातासम्ममा निको हुने हुन्छ । तर एक सातासम्म पनि निको नभएमा तुरुन्त मेरुन्डण्ड रोग विशेषज्ञमा उपचारका लागि जानुपर्ने ट्रमा सेन्टरका वरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा.गौरब ढकाल बताउँछन् ।

“गर्धन  तथा ढाड दुख्दा बिरामीले लापरबाही गर्दा गम्भीर समस्या आउने हुन्छ । लामो समयसम्म यस्तो समस्या आएमा मेरुदण्डको क्यान्सरसमेत हुने खतरा हुन्छ,” उनले भने, “गर्धन र ढाड दुखेर उपचार गर्न आउने बिरामीमा लामो समयसम्म एकै स्थानमा काम गर्ने, कम्प्युटरमा बढी समय बिताउने, लामो समयसम्म उभिएर काम गर्ने, नियमित मोटरसाइकल चढ्ने मानिसमा बढी देखिने गरेको छ ।” यस्ता समस्या ग्रामिण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसमा बढी देखिने गरेको उनले बताए ।

“नियमित एक घण्टा व्यायाम गर्ने, कुर्सीमा बसे काम गर्ने मानिसले करिब आधा घण्टा ४५ मिनेटमा उठेर जीउ तन्काउने, मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण गर्न सकिन्छ,” उनले भने । त्यसैगरी, जीवनशैलीका कारण देखिएको ढाड तथा गर्धन दुख्ने समस्या, जीवनशैली परिवर्तन गरेमा समाधान गर्न सकिने उनले बताए ।  ढाड तथा गर्धन दुख्ने समस्याको जोखिममा २० वर्षदेखि ५० वर्ष उमेरसमूहका मानिसमा बढी देखिने गरेको छ । तर सुतेर टीभी हेर्ने, निहुरिएर मोबाइल चलाउने, अग्लो सिरानीमा सुत्ने बालबालिका पनि प्रभावित भइरहेका चिकित्सकहरुले बताएका छन् । सहरी जीवनशैली गुणस्तरीय बनाउन सानै उमेरदेखि व्यायाम गर्न बानी बसाल्नुपर्ने चिकित्सकहरुको सुझाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्धन तथा ढाड दुख्नेलगायतका हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण देखिने जनाएको छ । जसमा २० प्रतिशत अन्य कारणले दुख्ने  हँदा शल्यक्रियासमेत गनुपर्ने अवस्था पुग्ने उल्लेख छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*