सर्लाहीकाे हरिपूर्वा नगरपालिकालाई नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाण्डाै – निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतलाई नगरपालिकाले तय गरेको विशेष अधिवेशन तत्कालका लागि स्थगित गरी निर्वाचन आचारसंहिता विपरीत किन अधिवेशन गर्नुपरेको हो ? भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
आयोगले नगरसभा सदस्य र केही पार्टीका तर्फबाट परेको उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमति बेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराउँदै असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरी गणपुरक संख्या नपुगेको कारण यो मितिमा सञ्चालन हुन नसकी कात्तिक २ गते बोलाइएको बोलाइएको अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।
‘नेपालको संविधानबमोजिम पालिका तहको कार्यकारिणी अधिकार नगरकार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुईमत छैन । यद्यपी निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाई नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन ।’ स्पष्टीकरणपत्रमा भनिएको छ ।