अस्ट्रेलियामा विद्यार्थीलाई डेरा पाउनै सास्ती

रहेका समाजसेवीका अनुसार सिड्नी, मेलबर्नलगायत मुख्य सहरमा घरभाडामा पाउने समस्या अन्य क्षेत्रको तुलनामा कम भए पनि महँगाइका कारण एक्लै घरभाडामा लिन सक्ने अवस्था छैन । त्यसका साथै, पछिल्लो समय विद्यार्थीको संख्या बढिरहेका दुर्गम क्षेत्रमा तर भाडामा घर पाउनै कठिन छ ।
‘अहिले पनि सहयोगका लागि हरेक दिनजसो कोही न कोही विद्यार्थीले हामीलाई सम्पर्क गर्नुहुन्छ,’ योङस्टर ग्रुपका अध्यक्ष प्रकाश घिसिङले कान्तिपुरसँग भने । अहिलेसम्म आफूहरूले कम्तीमा ५० विद्यार्थीलाई निःशुल्क रूपमा सहयोग पुर्याइरहेको उनले बताए । एक दर्जन विद्यार्थीलाई उक्त ग्रुपले निःशुल्क रूपमा बसोबास र खानपिनको व्यवस्था गरिरहेको छ । ‘हामी बस्ने स्थानका लागि सहयोग गर्ने मात्र नभएर आवश्यकताअनुसार विमानस्थलबाट पिकअप गर्ने र सकेसम्म जागिरको समेत बन्दोबस्त गरिरहेका छौं,’ घिसिङले भने ।
एनआरएनए न्यु साउथ वेल्सका संयोजक तथा अस्ट्रेलिया उपाध्यक्ष देव गुरुङले पनि विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । पछिल्लो समय भाडामा बस्ने घर नपाएर केही विद्यार्थी समस्यामा परेका र तीमध्ये कतिपयलाई एनआरएनएले सक्दो सहयोग पुर्याइरहेको उनी बताउँछन् ।
भर्खरै अस्ट्रेलिया आएका विद्यार्थीको मुख्य गुनासो बसोबासका लागि घर नपाउनु नै छ । लामो समयसम्म यो समस्या झेलेका पर्थका रुपेश बस्ताकोटी भने अहिले यो समस्याबाट मुक्त भएकोमा हर्षित छन् । तर उनलाई त्यही योङस्टर ग्रुपले नै विमानस्थलबाट पिकअप गर्नेदेखि बस्ने स्थान खोजिदिनेसम्मका लागि सहयोग गरेको थियो ।
‘नयाँ आउने र यहाँ आफन्त नहुने विद्यार्थीलाई अस्ट्रेलियामा सहज रूपमा घरभाडामा पाउन सकिँदैन भनेर बुझाउन आवश्यक छ,’ उनी भन्छन् । नेपालबाट भिसा लाग्नेबित्तिकै यहाँको वस्तुस्थितिबारे नबुझी अस्ट्रेलिया आउने क्रमले समस्या अझ चर्किएको उनी बताउँछन् । नेपालमा रहेका केही कन्सल्टेन्सीले समेत यथार्थ जानकारी नदिने, आफ्ना मान्छे विमानस्थलमा लिन आउने र बस्ने व्यवस्थाका लागि केही अप्ठ्यारो नहुने भन्दै गलत सूचना दिने गरेका उनको दाबी छ ।
एडिलेड, डार्बिन, ब्रिसबेन, क्यानबेरा लगायतका सहरमा विद्यार्थीलाई घरभाडामा पाउन अत्यन्तै समस्या छ । एकातिर तिर्नै नसकिने भाडादर अर्कोतिर घर पाइहाले पनि लिनका लागि आवश्यक कमाइको विवरणलगायत विभिन्न कागजातका कारणसमेत विद्यार्थी समस्यामा परेका हुन् । यसका साथै घरभाडामा लिनका लागि धरौटीबापत कम्तीमा ४ देखि ६ साताको रकम पहिल्यै दिनुपर्ने भएकाले समेत नयाँ आएका विद्यार्थीले आफ्नै नाममा घर पाइहाले पनि लिन असम्भवजस्तै छ ।
विश्वमा बस्नयोग्य उत्कृष्ट सहरको सूचीमा रहेका सहरहरू भएका कारणसमेत यहाँको औसत भाडादर अत्यन्तै महँगो छ । हालै गरिएको एक अध्ययनमा सिड्नीमा साताको औसत भाडादर ६ सय २१ डलर पर्ने गरेको छ भने ४ सय डलरभन्दा कम भाडादर भएका घर पाउन मुस्किल छ ।
यसैगरी, मेलबर्नको सहरी क्षेत्रको औसत भाडादर एक साताको नै ६ सय ६० डलर छ । सहरी क्षेत्र बाहिरको भाडादर ५ सय डलरको हाराहारीमा छ । पछिल्लो समयमा नेपालीको बसोबास बढिरहेको पश्चिम अस्ट्रेलियाको पर्थमा प्रतिसाता औसत ४ सय ७० डलर ९३५ हजार रुपैयाँ० भाडा तिर्नुपर्छ ।
अस्ट्रेलियास्थित प्रोपट्र्याकले गरेको अनुसन्धानअनुसार अस्ट्रेलियामा प्रतिसाता ४ सय डलरभन्दा कम भाडादर तोकेर गरिएको विज्ञापन करिब २० प्रतिशत मात्र छ । सन् २०२० को मार्चमा प्रतिसाता ४ सय डलरको दरले घरभाडा लगाउने विज्ञापन झन्डै ४२ प्रतिशत थियो । विज्ञहरूले जनसंख्या बढेसँगै घरहरूको अनुपात नबढेका कारण घरभाडामा पाउन समस्या भएको बताएका छन् ।
त्यसका साथै, पछिल्लो समय बढिरहेको महँगीका कारण समेत सर्वसाधारणले घरभाडामा लिन कठिन हुने अवस्था सिर्जना भएको जनाइएको छ । प्रोपट्र्याकका अर्थशास्त्री एंगस मुरले पछिल्लो समयमा सेयर गरेर बस्ने चाहनामा कमी आउनुले समेत घरभाडामा पाउन मुस्किल भएको बताएका छन् ।
अस्ट्रेलियामा उच्चशिक्षा प्रदान गरिरहेका केही विश्वविद्यालयले विद्यार्थीलाई उचित शुल्कमा बासस्थानको सुविधा दिइरहेका भए पनि सो सुविधा सबै विद्यार्थीले पाउन नसकेको विद्यार्थीको गुनासो छ । यहाँ आएर समस्या झेलिरहेका विद्यार्थी नेपालबाट अस्ट्रेलिया आउन लागेका विद्यार्थीलाई बासस्थानको निधो र यहाँका बारेमा अध्ययन गरेर आउन सुझाव दिन्छन् ।