बिश्वास जित्ने चुनौती

सरिता दाहाल
२३ असार २०७६, सोमबार १९:०२

सन्दर्भ १ः १ महिना अगाडि घरमा एउटा दराजको खाँचो थियो । बहिनी र म दराज किन्न फर्निचर तिर लाग्यौ । चिनजान कै फर्निचरमा जाने सल्लाह भो । उतै गयौं । फर्निचरवाला हुनुहुन्थ्यो पुर्व मिडियाकर्मी । हेटौंडामा एउटा सामुदायिक रेडियो केही बर्ष चलाएर पछि पेशा फेर्नु भएको उहाँले । मिडियाकर्मी हुंदाकै चिनजान । केहिबेर सन्चो बिसन्चो घर परिवारको कुरा भएपछी हामीले दराज किन्न आएको कुरा राख्यौ । उहाँले खासै चासो देखाउनु भएन ।

ब्यापारीले क्रेतालाई आफ्नो सामानको गुण बारे केही भनोस भन्ने चाहाना हुन्छ नि । उहाँ त वास्तै गर्नुहुन्न त ? हामी दिदी बहिनी छक्क प¥यौ । एकदुई वटा दराज हेरेपछी हामीले आफूले खोजेजस्तो ब्राण्ड र डिजाइनको दराज भए नभएको सोध्यौ । उहाँले अझै वास्ता गर्नु भएन । उहाँ आफ्नो सामानको गोदाममा लागेर सामान देखाउन पनि चासो राख्नु भएन । फसर्नचरमा एक जना पुरुष कर्मचारी थिए । उहाँले पनि वास्ता गरेनन् ।

हामीले मुखै फोरेर भन्यौ, किन सामान देखाउन पनि अल्छी मान्नुभको दाइ ? उहाँले बल्ल भन्नू भो “फुर्सदमा ज्वाइँलाई लिएर आउ न है बैनी, अनि बहिनी ज्वाइँ कै रोजाईको दराज लैजानु, ज्वाईसंग भए पैसापनि हुन्छ ।’ हामी दिदी बहिनी त छक्कै प¥यौ । दिदिबहिनी आपसमा हेरेको हेरेई भयो केही सेकेण्ड । त्यसपछि एक सेकेन्ड पनि त्यहाँ बस्नमन लागेन, हामी त्यो फर्निचरबाट बिदा भयौ । अर्को फर्निचरबाट दराज लिएर घर आयौ ।

सन्दर्भ २ः पत्रिकाको कार्यालयमा समाचार टाइप गर्दै थें । अफिसमा म र पत्रीका बितरण फाँटको एउटा भाइ थियौ । एक ब्यक्ती आए पुरुष । हेर्दा म भन्दा दशक बढी उमेरका लाग्थे । मैले के को लागि आउनु भो भनेर सोधे, उहाँ अलि असहज ‘फिल’ गरेजस्तो लाग्यो । बस्न र प्यास भए पानी पिउन अनुरोध गरे । उहाँ बस्नु भो । पानी पिउनु भो ।

सामान्य अवस्थामा आउनु भएजस्तो मैले फिल गरे र फेरि सोधे केही थ्यो कि सर ? उहाँले मलाई केही जवाफ दिनु भएन । बरु बितरक भाईसंग भने “लौ न सर मेरो एउटा समाचार लेखिदिन प¥यो, साह्रै समस्यामा परे‘‘ ।” बितरक भाइ दंग परेर सुनिरहे केहिबेर । अनि मलाई देखाउंदै भने “उहाँ म्याडम संग कुरा गर्नोस् न ।” ति ब्यक्ति “हैन सर हजुरले सुनिदिनोस न” भन्दै थिए । बितरक भाइले “मैले समाचार लेख्ने हैन, उहाँ म्याडमलाई भन्नुस न” भनेपछी बल्ल ती ब्यक्ति म भएतिर फर्किए । म प्रति बिश्वास नभइ नभई आफ्ना कुरा राखेर गए । ती ब्यक्ती गएपछी बितरक भाईले खिस्स हांस्दै भने, “हजुर भन्दा म सिनियर देखिन्छु र म्याडम ?”

सन्दर्भ ३ः मयूरिमा यात्रारत थिए । मयूरी चालक महिला थिइन् । यात्रु म मात्रै थिए । कत्तिको कमाइ हुन्छ, चुनौती के छ, गाह्रो–साह्रो के छ बुझ्न मनलाग्यो । सोधे । उनको जवाफ् थियो ः मयूरी चलाउन थालेको ७ बर्ष भो । बल्लबल्ल अचेल अलि सहज छ । सुरु सुरुमा यात्रु पाउनै गाह्रो । हामीले आफ्नो बलले बोक्ने जस्तोगरी ‘सक्नुहुन्न होला, तपाईंलाई गाह्रो होला’ भनेर यात्रु साईड लाग्थे । अरु मयूरी पाएसम्म मेरोमा चढ्नै नमान्ने । कि त अरु मयूरी चालक पुरुषहरूले ‘त्यसैमा जानुस्, राम्रोसँग लैजानुहुन्छ’ भन्दिनु पथ्र्याे कि त आपत पर्दा वरपर अरु मयूरी भेटिएनन भनेमात्र मैले यात्रु पाउथे । अनि म सकेसम्म अरु मयूरी नजाने ठाउँमा यात्रु खोज्दै जानेगर्थे । दिनभरी यात्रु कु¥यो सांझ साहुलाई दिने पैसा नि पुग्दैन थ्यो धेरै जस्तो । आफूले जानेको यहि छ, अरु के गर्नु । बिस्तारै बिश्वास गर्लान नि भनेर लागिपरिरहें । पछिपछि अरु महिलाहरुले पनि मयूरी चलाउन थाले । मलाई पनि सहज भो । अब समस्या खासै छैन । राती चै चलाउन्न, समय मै घर जान्छु ।”

सन्दर्भ ४ः नर्स दिवसको पुर्वसन्ध्यामा समाचार संकलन गर्ने क्रममा थिए । एकजना स्टाफ नर्ससंग परिचय भयो । उहाँ भन्दै हुनुहुन्थ्योः पढेका छौ, ज्ञान छ, क्षमता छ सबैभन्दा ठूलो चुनौती हामीमाथिको अबिश्वास छ । हामी (महिला) माथि हत्तपत्त अझै बिश्वास गर्दैनन बिरामीहरु र बिरामीको आफन्तले । तपाईंले साच्चिकै सक्नुहुन्छ त भनेर प्रश्न गर्छन् । आफूभन्दा जुनियर नै भएपनी सकेसम्म पुरुषलाई नै जाँच गराउन चाहन्छन । अरु स्वास्थ्यकर्मी नभए मात्रै बाध्यात्मक अवस्थामा मात्रै लौ न त राम्रोसँग गर्दिनुन है भनेर जचाँउन तयार हुन्छ । बिश्वास जित्नु सबैभन्दा ठूलो रैच । कस्तो पेशामा आएछु जस्तो लाग्छ कहिलेकाही त ।”

मैले यी ४ वटा मात्रै सन्दर्भ जोडे हजारौं यस्ता सन्दर्भ छन् महिला माथी अबिश्वास गर्ने बारेका । यतिबेला आफ्नै घरकै ब्यवहार याद आइरहेको छ । आमाले कुडोपानी घाँस सोतर गरेर देख्दै लोभलाग्दो बनाउनु भएको खसि किन्न ग्राहक आउथे, बुवा घरमा नभएको थाहा पाएपछि ‘बाजे हुदाका बखत आउला’ भन्दै फर्कन्थे । काकीले गाई पालन गर्न ऋण खोज्नु भयो, कतै पाउनु भएन, जब काकाले माग्नु भयो, काकीले माग्दा सुको छैन भन्नेले नै खनखन पैसा गनेर दिए ।

जबकी गाई पालेर ब्याजसमेत फर्काउने पैसाको जोहो काकीले नै गरिदिनु पथ्र्याे । काकी नै खटेर गाई पालन नगरे काकाले ऋण कसरी फर्काउनु हुन्थ्यो र ? स्कुल पढ्दा मेरो साथी पार्वती बिकको नाममा दलित कोटाको छात्रवृत्ति आउँथ्यो । गुरुहरुले उनका बाबुलाई बोलाएर पैसा दिएर पठाउनुहुन्थ्यो, त्यो पैसा पार्वतीको बाबुले भट्टिमा सक्थे । भोलिपल्ट पार्वती खालिखुट्टामा स्कुल आउँथिन । झोलामा पन्ना सकिएको पुरानै कापी र औलाभन्दा छोटा सिसाकलम हुन्थ्यो । भन्थिन ‘आमालाई देको भए राख्दिन्थिन आमाले बाले हिजै सके भट्टिमा, सरले देको पैसा ।’
तिता अनुभुती यावत् छन् । किन महिला माथी बिश्वासको कमि ? हिजो हजुरआमा र आमाहरुको पालामा हैन आज पनी यो उस्तैगरी गडेको छ समाजमा । जुन उदाहरणको सन्दर्भ मैले माथी नै उल्लेख गरे ।

महिलाको कामको सफलताको चर्चा कमै हुन्छ आज पनि । दुई दशक लामो जनप्रतिनिधि बिहिन अवस्थालाई चिर्दै अहिले टोलटोलमा जनप्रतिनिधि बनेर महिलाहरु आएका छन् । घर भित्रैदेखि जिम्मेवारीमा बिश्वासिलो साझेदारी नपाएका महिलाले समाजमा आफ्नो योग्यता र क्षमता देखाउने राम्रो अवसर प्राप्त भएको छ । कानूनी ब्यवस्थाका कारण बाध्यकारी रुपमै भएपनी नेतृत्वमा आएका महिलालाई पुरुषहरूको बेवास्ताका कारण काम गर्न त्यहा पनि सहज छैन । तर ‘म पहिलो पटक चुनिएर आएको हुं, म असफल भएंभने, म भन्दापछि आउने महिलालाई समस्या पर्छ, जसरी हुन्छ, संघर्ष गर्छु म सफल भएरै छाड्छु’ भन्ने द्येय भने महिलामा छ । यो हुनुपनी जरुरी रह्यो । बिश्वास जित्नकै लागि आ–आफ्नो मैदानमा लागिराख्नुपर्ने अहिलेको आकश्यकता बनेको छ ।

स्थानीय निकायको उपप्रमुख भएर न्याय सम्पादनको क्रममा महिलाहरू जुन भूमिका निर्वाह गरिरहेका छन त्यो कम्ती छैन । अवसर पाएको अवस्थामा इमान्दारीताका साथ भूमिका निभाउदै जांदा महिलाले आमबिश्वास जित्न सक्छन् । माथी उल्लेख गरिएको महिला मयूरि चालकको भोगाईले पनि त्यो बुझाउँछ । गर्दै जांदा सकिन्छ, मन जितिन्छ, विश्वास जितिन्छ । मात्रै अनरवत हिम्मत र लगाब आवश्यक छ । हामी राष्ट्रपती, प्रधानन्यायाधीश तिर नपुगौ, हाम्रै छिमेकमा हामिसंगै हिजो भात भान्छा, छोराछोरी श्रीमान्, गाईगोठ,घांस सोतर, भकारो पानीमात्रै संसार मानेर सिमित महिला आज न्यायका कुरा छिनोफानो गर्ने भएका छन ।

अवसर पाए गर्दैनन् र ? हिजो श्रीमानले गाई पाल्न ऋण ल्याईदिनुपर्ने काकीहरु आज सहकारीमा लगानी गर्ने भएका छन । अबिश्वासको खडेरी बढ्दै जाओस । बिश्वासको वातावरण फैलदै जाओस् । महिलाको उच्च मनोबल र हिम्मतलाई पुरुषले साथ दिंदा त्यसले महिलाको मात्रै प्रगती गराउन्न । पुरुषको पनि प्रगती गराउँछ । महिलामाथी बिश्वासको वातावरण सिर्जना गर्ने पुरुषले हो । महिलाले महिलाको पक्षमा बोल्दा जति हल्का रुपमा लिने परम्परा छ,त्यो पुरुषले बोल्दा हजारौं गुणा प्रभावकारी हुन्छ । यो मामिलामा पनि सहकार्य गरौं न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*