यही बेला अमेरिकामा भारतविरोधी विज्ञापन किन छापियो ?
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले भारत विरोधी विज्ञापन प्रकाशित गरेको छ । उसले लगानीको निम्ति भारत असुरक्षित मुलुक भन्दै पूर्ण पृष्ठको विज्ञापन छापेपछि भारत क्रुद्ध भएको छ ।
न्यूयोर्क टाइम्सले पनि यस्तै नियत राखेको भन्दै त्यतिबेला पनि भारत चिढिएको थियो । वाल स्ट्रिटको गत बिहीबार प्रकाशित पछिल्लो विज्ञापनमा भारतीय वित्तमन्त्री निर्मला सीतारमन,एन्ट्रिक्स कर्पोरेशनका अध्यक्ष राकेश शशीभूषण, सोलिसिटर जनरल तुषार मेहताको फोटो छापिएको छ । त्यसैगरी सर्वोच्च अदालतका न्यायाधीशहरू हेमन्त गुप्ता र बी. रामसुब्रमण्यम,विशेष पीसी कानून न्यायाधीश चन्द्र शेखर,सीबीआई डीएसपी आशिष पारिक, प्रवर्तन निदेशालयका निर्देशक कुमार मिश्र, ईडी कुमार मिश्रको नाम उल्लेख छ ।
त्यसैगरी आर. राजेश, एन वेंकटरामन र ए. सादिक मोहम्मदको समेत नाम राखेर ती सबै अधिकारीहरूले विदेशी लगानीलक्षित व्यवसायमा दखल पुर्याएको आरोप लगाइएको छ । विज्ञापनमा भनिएको छ, ‘मोदी सरकारका यी अधिकारीहरूले राजनैतिक र व्यापारिक प्रतिद्वन्द्वीहरूसँग अंक मिलाउन राज्यका संस्थाहरूलाई हतियार बनाएर कानूनी शासनलाई ध्वस्त पारेका छन् । यसबाट भारत लगानीकर्ताहरूको निम्ति असुरक्षित मुलुक बनेको छ ।’
वासिङ्टनस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फ्रन्टियर्स फ्रिडमले छापेको विज्ञापन विवरणमा अमेरिकी सरकारलाई ग्लोबल म्याग्निटस्की अर्थात् मानवअधिकार जवाफदेहिता ऐनअन्तर्गत ती भारतीय अधिकारीहरुविरुद्ध आर्थिक र भीसा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वपछि भारतमा कानूनी शासनको धज्जी उडेको आरोप लगाइएको छ । यी सबै कारणबाट भारत लगानीको दृष्टिकोणले असुरक्षित मुलुक बनेको भनिएको छ ।
यता भारतले भने उक्त नियोजित विज्ञापनलाई खराब चालको संज्ञा दिएको छ । उक्त कार्य भारतविरुद्ध देखाइएको खुला घृणा भएकाले यसले मुलुकको छविलाई बदनाम गर्ने र प्रगतिलाई कमजोर पार्ने उद्देश्य लुकेको भारतीय अधिकारीहरुको भनाइ छ । भारतले भनेको छ, ‘आइएमएफले भारतले यो वर्ष ६.८ प्रतिशत र आगामी वर्ष सन् २०२३ मा ६.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यस्तो अवस्थामा वाल स्ट्रिटको उक्त विज्ञापन स्वत :गलत पुष्टि हुन्छ ।’
केही सातादेखि वासिङ्गटन र न्यूयोर्कमा विश्वका राजनीतिज्ञ र अर्थशास्त्रीहरु भेला भएका छन् । उनीहरु संयुक्त राष्ट्र संघको महासभा र विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन गएका हुन् । यही बेलामा भारतविरोधी त्यस्तो विज्ञापन प्रकाशित गरिनुको उद्देश्य कुत्सित रहेको भारतीय अधिकारीहरुको भनाइ छ ।