बागमती प्रदेशसभा सचिवालयले वेबसाइटबाट हटायो सभामुख श्रेष्ठ र उपसभामुख तामाङको नाम
हेटौंडा । बागमती प्रदेशसभा सचिवालयले वेबसाइटबाट सभामुख सानु कुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङको नाम आफ्नो वेबसाइटबाट हटाएको छ । सभामुख र उपसभामुखको पदावधी सकिएकाले उनीहरुको नाम आफ्नो वेबसाइटबाट हटाएको हो ।
सचिवालयका अनुसार सभामुख श्रेष्ठ र उपसभामुख तामाङले प्राप्त सरकारी सुविधा (सरकारी निवास समेत) असोज २३ गते नै छाडिसक्नु भएको छ । कार्यकाल सकिएकोले सभामुख र उपसभामुखको नाम र फोटो वेबसाइटबाट हटाइएको प्रदेशसभा सचिवालयका कर्मचारीहरु बताउँछन् । संसद सचिवालयका एक अधिकारी भन्छन्, ‘उहाँहरुले सेवा सुविधा फिर्ता गर्नुभयो त्यसपछि नाम हटाइएको हो ।’
बागमती प्रदेशसभाका सभामुख र उपसभामुखलाई बिदाई समेत प्रदेशसभा सचिवालयले गरिएको छ । बितेको मंगलबारबाट सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङलाई बिदाई गरिएको हो ।
सभामुख श्रेष्ठ २०७४ माघ २७ गते नेकपा एमालेको तर्फबाट सभामुख निर्वाचित हुनुभएको थियो । नेकपा माओवादी केन्द्रको तर्फबाट उपसभामुख राधिका तामाङ निर्वाचित हुनुहुन्थ्यो । प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी दुबै जनालाई बिदाइ गरेको थियो । सचिवालयका सचिव कृष्णहरि खड्काले सभामुख र उपसभामुखलाई मायाको चिनो दिँदै बिदाइ गर्नुभएको थियो ।