आयाेगलाई ‘खुद्रा–मसिना’ कुरामा अलमल्याएर चुनाव बिथाेल्ने प्रयास नगरियाेस् : प्रमुख आयुक्त थपलिया

जनपत्र
२८ आश्विन २०७९, शुक्रबार १९:३५

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आउँदाे मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानुनअनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्‍याे भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराउनुभयो । आज शुक्रवार आयोगकाे कार्यालयमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भीर बन्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कसैको निगरानी गर्दैनौँ । हाम्रो गरिदिनोस् भन्छौँ । खबरदारी गरिदिनोस् भनेर हामीले पटक–पटक भनिराखेका छौँ । हामी चुनावमात्रै गर्दै छैनौँ । हामी लोकतन्त्रलाई थप सुदृढ गर्दैछौँ । हामी जनताको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीलाई अझ बलियाे बनाउने अभ्यासमा छौँ । तसर्थ यो अभ्यासलाई कुण्ठित हुने ढङ्गका र निर्वाचन आयोगलाई खुद्रा–मसिना कुरामा अलमल्याएर कतै चुनावकाे स्वच्छता, भङ्ग गर्न सकिन्छ कि भन्ने दुस्साहस यदि कसैले राखेको छ भने त्यो दिवास्वप्ना हो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुने छैन । आयोगलाई लाञ्छना लगाएर चुनाव बिथोल्ने प्रयास नगरियोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानुन र संवैधानिक मूल्य–मान्यता बमोजिम चुनावकाे कार्य सम्पादन गर्नका लागि विभिन्न निकायलाई निर्देशन दिन सक्ने व्यवस्था रहेको पनि स्मरण गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*