सत्तारुढ गठबन्धनः आज बिहानै बाँडफाँटको टुंगो लगाइने

जनपत्र
२२ आश्विन २०७९, शनिबार ०७:५०

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको बताइएको छ ।

पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी जसपा बाहिरिएको छ । जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिएका छन् । शीर्ष नेताको शुक्रवारको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विषयमा छलफल भएको थियो ।

प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेशसभाका विषयमा छलफल भइरहेको छ । प्रदेशसभाको बाँकी छलफल आज शनिबार गर्ने निष्कर्षका साथ शुक्रवारको बैठक राति सकिएको जानकारी पनि उनले दिए । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै शुक्रवार अन्तिम रुप दिन निर्णायक वार्तामा नेताहरु जुटेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही भोलि असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले पनि आज बिहानै सहमतिलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग पनि छलफल गरिरहेका छन् । लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ ।

सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*