तीन नम्बर पुल बस दुर्घटना अपडेटः मृत्यु हुनेको सख्या १७ पुग्यो, हेटौंडा अस्पतालबाट आफन्तले शव बुझे
हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ । भरतपुरको अस्पतालमा गएराती बारा कलैयाकी १२ बर्षिय कृतिका चौधरीको मृत्यु भएपछी मृतकको सख्या १७ जना पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।
हिजोनै बस दुर्घटनामा हेटौंडा र चितवनका अस्पतालमा गरी १६ जनाको मृत्यु भएको थियो । यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका १७ जनाको सनाखत भएको छ । उपचारका क्रममा मृत्यु भएका १७ जनाको सनाखत भएको एसपी गौतमले बताउनुभयो ।
हेटौंडा अस्पतालमा ल्याएका सबको डाक्टरले पोष्टमार्टम गरेका छन् । बस दुर्घटनामा मृत्यु भएका आफन्तले सब बुझेका छन् । अस्पतालका डाक्टरले हिजो पोष्टमार्टम गर्न ढिलाइ गर्दा मृतकका आफन्तहरु कुरेर बस्नुपर्ने बाध्यता भएको थियो ।
मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर रहेका छन् ।
त्यस्तै हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन् । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको थियो । नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडमा बिहीबार बिहान दुर्घटना भएको थियो।