आज देशभर वर्षा, भाेलि पश्चिम भागमा ठूलाे पानी पर्ने सम्भावना
काठमाण्डाै – दशैँकाे महानवमीका दिन आज मङ्गलवार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेस प्रदेश तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भू–भाग तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । त्यस्तै विजयादशमीको दिन भोलि बुधवार देशको पश्चिम भागमा ठूलाे पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।
महाशाखाका अनुसार आज राति पनि बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नं १, मधेसका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विजयादशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।