हेटौंडामा एकदिने बालकथा लेखन कार्यशाला

हेटौंडा / झरना साहित्यिक परिवार मकवानपुरको २४० औँ साहित्य शृङ्खलाका अवसरमा हेटौंडामै पहिलोपल्ट एकदिने बालकथा लेखन कार्यशाला आयोजना भएको छ । बालसाहित्य सर्जक यशु श्रेष्ठको प्रशिक्षणको साथमा सम्पन्न कार्यशालामा सामुदायिक र संस्थागत विद्यालयका गरी ४ दर्जन भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षणका क्रममा श्रेष्ठले बालकथाका आधारभूत तत्वहरू, त्यसमा हुनुपर्ने गुणहरू तथा त्यसले पार्ने प्रभावका बारे उदाहरण सहित सरल भाषामा प्रस्ट्याउनुभएको थियो । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा बाल जागृति इङ्लिस बोर्डिङ स्कुलको सहकार्यमा सोही स्कुलमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार तुल्सी थापा, झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, हातेमालो बचतका अध्यक्ष नुरप्रसाद गौतम, बालजागृति बोर्डिङका प्रिन्सिपल विनोद सुवेदी लगायत विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिको पनि सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता झरनाका अध्यक्ष दीपक गौतमले गर्नुभएको थियो ।