लीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन, काठमाण्डौका सडक अस्तव्यस्त
काठमाण्डाै – नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ । ली चान्सुको स्वागतमा भक्तपुरमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।
लीको भ्रमणका कारण बिहान ९ बजेदेखि नै काठमाण्डौ उपत्यकामा गाडीको आवागमन प्रभावित भएको छ । अहिले उपत्यकाका मुख्यमुख्य सबै चोकमा लामो जाम छ ।
बिहान रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन रोकिएको थियो । यी सबै क्षेत्रमा अहिले ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।
ली नेतृत्वको टोली भक्तपुरको अवलोकन सकेर सोल्टी होटल फर्किसकेको छ । लीले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।
यो समयमा पनि रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानी पखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।
लीको भ्रमणका कारण तीन दिनदेखि उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । पाहुनाका लागि सडक खाली गर्दा बिरामीलगायत कामका लाग घरबाहिर निस्केकाहरु मर्कामा परेका छन् ।
अस्ति सोमवार नेपाल भ्रमणमा आएका ली भोलि स्वदेश फर्किनु हुनेछ ।