गठबन्धन ताेड्नु भनेकाे कांग्रेसलाई सिद्ध्याउने षड्यन्त्र हाे : प्रधानमन्त्री देउवा

जनपत्र
२४ भाद्र २०७९, शुक्रबार १७:१४

चितवन – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।’

नेपाली कांग्रेस चितवनले आज शुक्रवार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन एवम् विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिद्ध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिद्ध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’

उहाँले गठबन्धन गर्दा पार्टीलाई बढी भन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनमा बढी भन्दा बढी फाइदा लिन हामी प्रयास गर्छाैँ तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नु हुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नु हुँदैन ।’

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर चुनावमा लाग्न आग्रह गर्नुभयो ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा एमालेको एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरूको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।’ हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । प्रम देउवाले भन्नुभयो, ‘हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनु पर्‍यो, हटाउनु पर्‍यो भनेको होइन सबैले ।’

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।’

उहाँले वर्तमान सरकारले पालिका चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको र आउँदो मङ्सिरमा हुने प्रदेश सभा र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*