अफगानिस्तानको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट, तीन जनाको ज्यान गयो
अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।
आत्मघाती बम विस्फोट हुँदा दुई जना दूतावासका कर्मचारी र अर्का एक जना नागरिकको ज्यान गएको रुसी सरकारी समाचार संस्थाले जनाएको छ ।
आक्रमणकारी आफैँले विस्फाेट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्नेबारे खुलेको छैन । रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि दूतावासबाहिर पर्खिरहेका बेला मानिसहरूसामु निस्केपछि विस्फोट भएको थियो ।
तालिबानले सत्ता कब्जा गरेको एक वर्षयता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।