‘पपुलिस्ट’ कुराले मात्रै देश चल्दैन, श्रीलङ्काको हालत भर्खर देखेका छौँ : नेता पाैडेल

जनपत्र
१९ भाद्र २०७९, आईतवार १७:०६

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन दिन नसके नेपाल पनि श्रीलङ्का सरह हुने दाबी गर्नुभएको छ ।

आइतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पाैडेलले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्नेबारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गर्नुभयो । देशमा सुशासन कायम गर्न नसके देशलाई आर्थिक रूपमा बलियो बनाउन नसक्ने उहाँकाे भनाइ छ ।

उहाँले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई  प्रयोगको थलो बनाउन नसकिने भन्दै देशमा स्थिरता कायम गर्नुपर्ने बताउनु भयो । संविधानलाई कार्यान्वयनमा ल्याउँदा सबै वर्गको हीतको सुरक्षा हुने गरेर ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज सवाल राष्ट्रको छ । सवाल राष्ट्रमा राजनीतिक स्थिरताको छ । देशमा सुशासनको सवाल छ, यो देश रहने/नरहने, यो देशको अर्थतन्त्र कसरी धानिएर अघि बढ्नेमा स्थायी सरकारको ठूलो जिम्मेवारी हुन्छ । सुशासन दिन हामी सक्षम भएनौँ भने हामीले श्रीलङ्काको हालत भर्खर देखेका छौँ । लाेकप्रिय कुराले मात्रै देश चल्न सक्दैन । देश चलाउन धेरै सुझबुझको आवश्यक पर्छ ।’

नेता पौडेलले निजामती सेवा ऐन चाँडै संसदमा पेस हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीयतालाई स्वीकारेपछि सङ्घीयतासँग मेल खाने गरेर सङ्गठन र संस्थाहरू सञ्चालित हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीको अधिकार, तहगत सुरक्षालाई ध्यानमा राखेर सरकारले चाँडै नै ऐनलाई संसदमा पेस गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*