गणतन्त्रमा जाने निर्णय मेरै नेतृत्वमा भएकाे हाे : अध्यक्ष नेपाल
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गर्नुभएको छ ।
आज आइतवार काठमाण्डाैमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर त्याे आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभएको हो । गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो । कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भए पनि त्यहाँभित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्याे । हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्याे । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटवलबाट आन्दोलनको नेतृत्वका गरेका थियौँ ।’
अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै देशमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिस्टहरूले कहिल्यै पनि भुल्न नहुने पटक–पटक दोहोर्याउनुभयो ।
कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले चुनावमा भाग लिइ जितेर देखाउन पनि नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलालाई चुनौती दिनुभयो । चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बाँस्तोलाले नमिल्ने उहाँको भनाइ थियो ।