पत्याउनुहोस्, तपाईंको गोजी नै हो सुनको खानी !

जनपत्र
१९ असार २०७६, बिहीबार ०६:१८

यदि कसैले तपाईंलाई तपाईंको गोजी नै सुनको खानी हो भनेर भन्यो भने पत्याउनुहुन्छ ? यो सम्भव हो जस्तो हामीलाई लाग्नै सक्दैन, त्यसैले यसलाई पत्याउने कुरा पनि आउँदैन ।  तर, वास्तविकता यही हो– तपाईंको गोजी नै सुनको खानी हो ।किनकि तपाईंको मोबाइल सुनको खानी हो । मोबाइलमात्र होइन, तपाईंसँग भएका सबै इलेक्ट्रोनिक सामानमा यति धेरै सुन हुन्छ कि सुनको ठूलो खानीबाट पनि त्यति सुन निकाल्न सकिँदैन ।

कुनै पनि खानीबाट तीन देखि चार ग्राम सुन निकाल्न एक टन खनिज निकाल्नु पर्ने हुन्छ । तर, मोबाइल फोन, ट्याबलेट तथा ल्यापटपजस्ता इलेक्ट्रोनिक फोहोरबाट करिब ३ सय ५० ग्राम सुन निकाल्न सकिन्छ । कतिसम्म भने यस्तै फोहोरबाट सुन र चाँदी निकालेर जापानको टोकियोमा हुने २०२० को ओलम्पिक पदकहरु बाँडिने भएको छ । टोकियो २०२० ओलम्पिकका आयोजकले यसको घोषणा गरिसकेका छन् । आयोजकले अर्बन माइनिङबाट मिलेको धातुबाट तयार गरेर ५ हजारभन्दा धेरै मेडल वितरण गर्नेछन् ।

यसको अर्थ हो विश्वकै सबैभन्दा प्रतिष्ठित खेलमा फोहोरबाट निकालिएको सुनचाँदी प्रयोग हुनेछ । पछिल्लो समय विश्वमै समस्याको विषय बन्न थालिसकेको छ, इलेक्ट्रोनिक फोहोर । यो अत्यन्त विषालु फोहोर हो तर के पनि बिर्सनु हुँदैन भने यही फोहोर विभिन्न धातुका लागि खानी पनि हो । त्यसैले त ओलम्पिक आयोजकले जापानमा सुचना नै जारी गरेको छ– काम नलाग्ने इलेक्ट्रोनिक फोहोर हामीलाई दिनुस् !

खासमा यो अभियान अघिल्लो वर्ष सुरु भएको थियो । आयोजकले त्यसयता विद्युतीय फोहोरबाट १६.५ किलो सुन र १८ सय किलो चाँदी निकालिसकेको छ । कास्य पदकका लागि चाहिने कास्य चाहिँ आवश्यकभन्दा धेरै निस्किइसकेको छ । टोकियो ओलम्पिक आयोजक समितिका प्रवक्ता मासा टकायाले अहिलेसम्म ५४.५ प्रतिशत सुन र ४३.९ प्रतिशत चाँदी मिलिसकेको बताएका छन् ।

यसरी विद्युतीय सामानहरुबाट सुन र चाँदीजस्ता बहुमूल्य धातु निकाल्न थालेपछि चाहिँ विश्वभर यो प्रयोगको व्यापक समर्थन हुन थालेको छ । किनकि सन् २०१६ सम्ममा नै विश्वभर साढे चार करोड टन इलेक्ट्रोनिक फोहोर पैदा भएको थियो । यो फोहोर वर्षेनी ३ देखि ४ प्रतिशतले बढिरहेको छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*