कक्षा १२ परीक्षाफलः १ लाख ८८ हजारको एनजी

माध्यमिक शिक्षा परीक्षा ९कक्षा १२० को परीक्षा दिएका झन्डै २ लाख विद्यार्थीले अहिलेकै अवस्थामा माथिल्लो तह पढ्न नपाउने भएका छन् । उनीहरूले पुनः परीक्षा दिएर ग्रेडवृद्धि गरेको अवस्थामा मात्र उच्च शिक्षा अध्ययन गर्न मिल्ने बाटो खुल्नेछ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार १ लाख ८८ हजार ४ सय १० जना परीक्षाको नतिजा ननग्रेडिङमा परेको हो । ननग्रेडिङमा परेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न अयोग्य मानिने व्यवस्था छ ।
नियम अनुसार दुई विषयसम्म ग्रेड वृद्धि गर्न पाइनेछ । बोर्डका अनुसार १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेड वृद्धि दिन पाउनेछन् । जसअनुसार ५७ हजार ५ सय ३२ विद्यार्थीले ग्रेड वृद्धि परीक्षासमेत दिन नपाउने भएका छन् भने उनीहरूले उच्च शिक्षा अध्ययन गर्न पाउने छैनन् । त्यस्ता परीक्षार्थीले अर्को वर्षको परीक्षामा सामेल हुन पाउनेछन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गरिएको जानकारी दिए । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ । तोकिएको अंकभन्दा कम अंक ल्याएमा प्रमाणपत्रमा एनजी अर्थात् ननग्रेडिङ लेखिने र एनजी लेखिएका प्रमाणपत्रले उच्च शिक्षा अध्ययन गर्न नपाउने व्यवस्था छ ।
बोर्डले यसवर्ष नियमिततर्फ ३।६१ देखि ४ जीपीए ४ हजार १ सय ७९ जनाले ल्याएको जनाएको छ । यस्तै, ३।२१ देखि ३।६० जीपीए ल्याउने ३० हजार १ सय ७ जना, २।८१ देखि ३।२० आउने ६५ हजार २ सय ८४ जना, २।४० देखि २।८० आउने ६४ हजार ९३ जना, २।१ देखि २।४० जीपीए आउने १० हजार ९ सय र १।६१ देखि २ जीपए आउने ३५ जना छन् ।
बोर्डले गत १६ जेठदेखि २५ गतेसम्म देशभर एकैसाथ कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरी ३ लाख ९६ हजार १ सय ८५ जना सहभागी भएका थिए ।
के छ निर्देशिकामा ?
बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ पहिलोपटक लागू गरेको हो । निर्देशिकामा ३५ भन्दा कम नम्बरलाई अवर्गीकत अर्थात् नन ग्रेडेड, ९एनजी० भनेर व्याख्या गरिएको छ । निर्देशिकाको दफा ७ को २ को ‘क’मा विषयगत रूपमा आन्तरिकतर्फ ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध गराइनेछैन भनी उल्लेख छ । यस्तै ‘ग’मा उच्च अध्ययनका लागि मूल प्रमाणपत्र अनिवार्य हुने र मूल प्रमाणपत्र नलिई अग्र अध्ययन गरेमा समकक्षता प्रदान नगरिने उल्लेख छ ।
‘घ’मा मूल प्रमाणपत्र प्राप्त गर्न नसकेको विद्यार्थीले तीनपटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सलंग्न हुन पाउने र ग्रेड वृद्धि परीक्षामा संलग्न हुने तथा आन्तरिक मूल्यांकनमा सहभागी हुन नसकेका विद्यार्थीको हकमा आन्तरिक तथा प्रयोगात्मक मूल्यांकनको अंक तीन वर्षसम्म कायम रहने व्यवस्था छ ।
यस्तै ‘ङ’मा दुई विषयभन्दा बढी विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेमा वा ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थी अर्को वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था छ ।
असोज अन्तिम साता ग्रेडवृद्धि परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी ३० र ३१ असोजमा सञ्चालन गर्ने जनाएको छ ।
भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा लिइने जानकारी दिएका हुन् । दुई विषयमा ननग्रेडिङ ९एनजी० आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।