अब हामी एजेण्डा बिहिन भयौं : कार्यवाहक मुख्यमन्त्री जमकट्टेल

मकवानपुर,१८ असार । प्रदेश नम्बर तीनका कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुनमनत्री शालिकराम जमकट्टेलले अब आफुहरु एजेण्डा बिहिन बनेको बताउनुभएको छ । मुलुकमा भएका सबै राजनीतिक उपलब्धीहरुमा संचारकर्मीहरुसँगै रहेपनि संबिधान सभाबाट संबिधान जारी भएपछि र पछिल्ला तीन तहको चुनावपछि एकखालको अन्यौलता देखिएका कारण हरेक क्षेत्रमा असंतुष्टी बढ्दै गएको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर तीनको प्रथम प्रदेश साधारण सभा तथा मिडिया सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा आफ्ना धारणा राख्दै उहाँले गरिब र हुनेखाँनेहरुका पक्षमा सरकार नलाग्दा पनि मुलुक एजेण्डा बिहिन जस्तो बनेको टिप्पणी गर्नुभयो ।
उहाँले गरिखाने र गरिबहरुको पक्षमा सरकारहरुले काम गर्नुपर्ने र हुँदाखाने र धनीहरुलाई अनुदान नभइ उनीहरुको सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब कसैले चाहेर पनि पत्रकारहरुका बिरुद्ध कानुन आउन नसक्ने जिकिर गर्नुभयो ।
यद्यपी नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संघीय सरकार योजनाबद्ध रुपमा पत्रकारिता पेशाको तेजोबध गर्न लागेको आरोप लगाउनुभयो । उहाँले मिडिया काउन्सील बिद्ययक पुर्नलेखन नभएसम्म पत्रकरा महासंघले घोषणा गरेको आन्दोलन नरोकिने पनि उल्लेख गर्नुभयो । उहाँले आफूहरुको आन्दोलन कसैको उक्सावटमा नभएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा ब्रोक्रास्टिंग एसोशिसन अफ नेपाल(बान)का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाइले आफूहरु पत्रकार महासंघको हरेक अभियानमा सहकार्य गर्दै सहभागी रहेको बताउनुहुँदै श्रमजिवी पत्रकारहरुको मुख्य मुद्दा पारिश्रमिकका बिषयमा ८० प्रतिशत समस्या समाधान भएको र साउनपछि यो समस्या हटेर जानेमा आफूहरु बिश्वस्त रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर तीनका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस रजिष्टार तीन नम्बर प्रदेशका प्रमुख रेवती सापकोटा,न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली,पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी,मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई,हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत,गाउँपालिका महासंघका सदस्य एवम् भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । भोलिसम्म चल्ने साधारण सभामा प्रदेशका १० जिल्लाका प्रदेश सभासदहरुको सहभागिता रहेको पत्रकार महासंघ तीन नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो ।