काठमाण्डौमा बालेनको ‘एक्सन’ : घरधनी र व्यापारी आक्रोशित, अरु नागरिक उत्साहित

जनपत्र
१० भाद्र २०७९, शुक्रबार ११:५४

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो ‘एक्सन’ले घरधनी र व्यापारी झस्किएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता प्रायः मौन छन् भने अरु धेरै नागरिक मेयर शाहले राम्रो काम गरेको भन्दै उत्साहित भएका छन् ।

हातमा सम्बन्धित घरको नक्सा र महानगरको ३५ दिने सूचना बोकेर मेयर शाह दिनहुँ डोजर लिएर आफैँ मैदानमा उत्रनुभएको छ । इञ्जिनियरिङ विषयमा जानकारसमेत भएकाले उहाँलाई नक्सा विपरीत बनेको संरचना पत्ता लगाउन र उतिखेरै ‘एक्सन’मा उत्रन सजिलो भएको छ ।

अवैध संरचना भत्काउनुअघि महानगरले ३५ दिने सूचना निकालेको थियो । तर घरधनी र व्यापारीले यो सूचनालाई बेवास्ता गरे । कतिपय व्यापारी भने ३५ दिने सूचना थाहा नभएको बताउँछन् ।

काठमाण्डौ मलमा फेन्सी पसल चलाउने व्यापारी उमेश यादव महानगरले कुनै सूचना नै नगरि एक्कासी डोजर लिएर आएर पसल भत्काएको भन्दै आक्रोशित हुनुहुन्छ । दशैँको मुखमा आएर आफ्नो ५० लाखको नोक्सानी गरेकोमा त्यसको क्षतिपूर्ति कसले दिने हो भनेर प्रश्न गर्नुहुन्छ यादव । उहाँ भन्नुहुन्छ, ‘भत्काउने नै भए कमसेकम सूचना त दिनुपर्छ । हामीलाई केही थाहै छैन । एक्कासी डोजर ल्याएर हान्न थाल्यो । सामान पनि झिक्न पाएन । यो कस्तो अन्याय हो ।’

व्यापारीहरुले आफूहरुलाई विना कुनै जानकारी तथा सूचना भत्काएको भन्दै विरोध गरिरहे पनि अरु नागरिक भने महानगरको कदमबाट उत्साहित छन् । बुधवार काठमाण्डौ मलको अवैध संरचनामा डोजर चलिरहँदा पुल्चोककी सरु नगरकोटी पनि त्यहीँ हुनुहुन्थ्यो ।

‘मान्छे हिँड्ने ठाउँ नै नहुनेगरी यसरी अवैध निर्माण गर्न पाइन्छ ?’ उहाँको प्रश्न छ, ‘उता रोड छ यता फुटपाथमा हिँड्ने ठाउँ छैन । अब हामी कहाँबाट हिँड्ने ?’ उहाँ अगाडि थप्नुहुन्छ, ‘यो गरेर जनतालाई केही सहयोग नै भएको हो । यो एकदमै भिड हुने ठाउँ हो । नागरिकलाई हिँड्ने ठाउँ पनि त चाहियो नि । मलाई चाहिँ यो ठिक लाग्यो ।’

महानगरले डोजर लगाएर भत्काएपछि खुला तर कुरुप देखिएको काठमाण्डौ मल अगाडि उभिइरहनु भएका विक्रम अधिकारी विदेश जाने तरखरमा हुनुहुन्छ । उहाँ २०७२ सालको भूकम्पपछि सुन्धारा कस्तो भएछ भनेर हेर्न निस्कनु भएको हो । नयाँ बनेको धरहरा अनि त्यसै परिसरमा बन्दै गरेका अन्य संरचना हेर्दै अगाडि बढ्ने क्रममा उहाँका आँखा काठमाण्डौ महानगरले डोजर लगाएर असरल्ल रहेको काठमाण्डौ मलमा पर्यो ।

काठमाण्डौ महानगरले किन भत्काएछ भनेर जिज्ञासा राख्दा धेरैले नक्सा पास नगरि बनाएको गैरकानुनी संरचना हुनाले महानगरले भत्काएको भन्ने उत्तर पाएपछि उहाँलाई महानगरले ठिकै गरेको भन्ने लाग्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*