यसकारण साङ्ला मार्न झन झन् कठिन हुँदैछ

जनपत्र
१८ असार २०७६, बुधबार ०६:३५

पछिल्लो समय साङ्ला तिनलाई मार्न डिजाइन गरिएका विष र केमिकल विरुद्ध आफूलाई सुरक्षित राख्न लगातार विकसित भइरहेका छन् । जर्मनीमा गरिएको एक नयाँ अनुसन्धानका अनुसार साङ्लाले थुप्रै किटनाशक विरुद्ध प्रतिरोधक क्षमता विकास गरिसकेको छ । यसरी अनुसन्धानकर्ताहरु ६ महिनाको अध्ययनमा साङ्लाहरुको सङ्ख्या कम गर्न असफल भएका हुन् । विभिन्न कडा विषादीहरुको प्रयोग गर्दा समेत ती किराहरुमा त्यस विरुद्ध जिवित रहने शक्ति विकास हुने क्रम नरोकिएको पाइएपछि एकै पीढीमा उनीहरुको प्रतिरोधक क्षमता ६ गुणाले वृद्धि भएको पत्ता लागेको छ ।

पर्ड युनिभर्सिटीका प्रोफेसर माइकल स्कार्फ भन्छन्, ‘साङ्लाहरुमा यस किसिमको चुनौति यसअघि कहिल्यै पहिचान भएको थिएन । यसरी साङ्लाहरुले लगातार आफूलाई विभिन्न किटनाशकसँग लड्न सक्षम बनाउँदै गए कुनै समय यिनीहरुलाई केमिकलले मात्र मार्न असम्भव हुनेछ ।’

जर्नल ‘साइन्टिफक रिपोर्ट’ मा प्रकाशित सो अध्ययन साङ्लाको ‘ब्लाटेला जर्मनिका एल’ प्रजातिमा केन्द्रित थियो जुन विश्वभर सबैतिर पाइन्छ । यसका लागि अनुसन्धान टोलीले ६ महिनासम्म साङ्लाहरुमा फरक स्तरका विभिन्न किटनासक परीक्षण गरेका हुन् । किरालाई पूर्ण रुपमा नष्ट गर्न र प्रतिरोघात्मक किराहरुको पहिचान गर्न पहिले विभिन्न किसिमका किटनाशक मिसाएर तिनमा प्रहार गरिएको हो । त्यसपछि पनि जिवित रहने साङ्लाहरुलाई ल्याबमा लगेर थप अध्ययन गरिएको थियो ।

स्कार्फका अनुसार उनीहरुले परीक्षणका क्रममा साङ्लाको जनसङ्ख्या स्थिर राख्न सकेपनि तिनको सङ्ख्यामा ठूलो कमी ल्याउन भने असफल भएका हुन् । उनका अनुसार दुईवटा किटनासक मिसाएर प्रहार गर्दा ती साङ्लाहरु झनै सक्रिय देखिएका थिए । यस अन्र्तगत पहिलो चरणमा साङ्लाहरु एउटै किटनाशकप्रति समेत संवेदनशील थिए र तिनलाई एकैचोटीमा नष्ट गर्न सकिन्थ्यो । तर दोस्रो चरणमा तिनका बच्चाहरुमा १० प्रतिशत प्रतिरोध शक्ति विकास भएको हो र प्रहारका बावजुद् तिनको जनसङ्ख्या बढ्दै गएको पाइएको थियो ।

त्यसबाट बचेका साङ्लाहरुले जन्म दिएका बच्चामा अझ उच्च क्षमता देखा परेको थियो । यसरी एकै पीढीमा चार देखि ६ गुणाले प्रतिरोधात्मक शक्ति वृद्धि हुँदै गएको पत्ता लागेको स्कार्फ बताउँछन् । उनी भन्छन्, ‘हामीले यति छिटो यस्तो हुन्छ भनेर सोचेकै थिएनौँ ।

स्त्री साङ्लाले तीन महिनाको प्रजनन चक्रमा ५० भन्दा बढी बच्चालाई जन्म दिन सक्छ । तर थोरै प्रतिशतको प्रतिरोधक क्षमताले पनि यसको जनसङ्ख्यामा ठूलो प्रभाव पार्ने गर्दछ जसकारण तिनलाई जति नष्ट गर्ने प्रयास गरेपनि उनीहरु फेरि आउँछन् र तिनको सङ्ख्या पहिलेकै अवस्थामा पुग्छ ।

डेलीमेलबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*