दलीय भागबन्डा भएपछि ‘बान’ को नेतृत्व चयनमा विवाद, स्वतन्त्र रेडियो सञ्चालकले बनाए छुट्टै कार्यसमिति

जनपत्र
६ भाद्र २०७९, सोमबार १४:२६

काठमाण्डाै – व्यावसायिक रेडियोहरूको छाता सङ्गठन ‘ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल’ (बान) को नेतृत्व चयन प्रक्रियामा विवाद भएकाे छ ।

यही भदाै ४ गते शनिवार भक्तपुरमा सुरु भएको बानको सातौँ महाधिवेशनले गए रातिसम्म नेतृत्व छान्न सकेको थिएन । तर मध्यरातमा एकाएक दलीय भागबन्डाकाे आधारमा कार्यसमितिको घोषणा भएको छ । निर्वाचन समितिले सहमतिमै नयाँ कार्यसमिति चयन भएको जिकिर गरेको छ ।

निर्वाचन समितिले अध्यक्षमा कुमार भट्टराई, वरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाईँ, उपाध्यक्षमा गोविन्द रोस्यारा, दुर्गा अधिकारी र राजकुमार थापा तथा महासचिवमा नवीन राई रहेको कार्यसमितिको नाम टाँसेको छ । तर अध्यक्षकी दाबेदार दुर्गा अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ नेतृत्व चयनको खबर गलत भएको उल्लेख गर्नुभएको छ । उहाँले बानको सातौँ महाधिवेशनलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न नसकेकोमा माफी माग्दै सर्वसम्मत नयाँ कार्यसमितिको खबर झुटो भएको बताउनुभएको छ ।

यसैबीच प्रेस युनियन, प्रेस चौतारी र प्रेस सङ्गठनका पदाधिकारीले निर्वाचन समितिलाई प्रभावमा पारेर पूर्णरूपमा गैरकानुनी हिसाबले नयाँ कार्यसमिति चयन भएको भन्दै स्वतन्त्र रेडियो सञ्चालकले छुट्टै कार्यसमिति बनाएका छन् । स्वतन्त्र रेडियो सञ्चालकहरूले रेडियो अडियोका प्रमुख दिपेन्द्र खनियाको अध्यक्षतामा छुट्टै कार्यसमिति घोषणा गरेर आफूहरूको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । खनिया नेतृत्वको कार्यसमिति आधिकारिकताको दाबी गर्न जिल्ला प्रशासन कार्यालयमा जाने तयारीमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*