महिला स्वास्थ्य स्वयसेविकाका लागि बीमा

तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयंसेविकाका लागि स्वास्थ्य र जीवन बीमाको व्यवस्था गर्ने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए । यसबाट उनीहरुलाई काम गर्न थप हौसला मिल्ने उनको भनाइ छ । ‘बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको विकास हुन्छ,’ गिरीले भने ।
कार्यक्रमबाट नगरपालिकाका १ सय ४२ स्वयंसेविका लाभान्वित हुनेछन् । उक्त कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलौ स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । आगामी आवदेखि सबै वडामा सो कार्यक्रम सञ्चालन गरिने सो नगरपालिकाले जनाएको छ ।